कर्मले गाउँ छोडेँ, धर्म सम्झेर फर्कन्छु : कुलचन्द्र गौतम

टाेपलाल अर्याल

२०७६ फाल्गुण १५ बिहीबार १३:०२:००

संयुक्त राष्ट्रसंघमा पूर्वसहायक महासचिव कुलचन्द्र गौतम, यो उच्च ओहदामा पुग्ने पहिलो नेपाली हुन् । उनको घर इस्मा गाउँपालिका–६ अम्मरपुर हो । कर्मले गाउँ छोडेको वर्षौं भए पनि कार्य व्यस्तताबाट अलिकति समय निकालेर गाउँ फर्कन उनले अहिलेसम्म बिर्सेका छैनन् ।

गाउँवासीका लागि केही न केही कोसेली बोकेर आउने गौतमले यस पटक विशेषज्ञ डाक्टरसहितको टोली लिएर अम्मरपुर आएका छन् । निशुल्क स्वास्थ्य शिविरमा बिरामीको लाइन मिलाउन, औषधि खुवाउन व्यस्त देखिएका उनले भने, ‘मेरो सम्पत्ति नै यी बा–आमा र गाउँवासीको अनुहारमा देखिएको खुसी हो ।’

विपन्न लक्षित स्वास्थ्य शिविर 

अम्मरपुर कुमाल समुदायको बाहुल्यता भएको ठाउँ हो । शिविरमा आएका अधिकांश कुमाल र दलित समुदायको बसोबास छ । आर्थिक अभावको कारण स्वास्थ्य सेवाको पहुँचबाट बन्चित भएका विपन्न नागरिकलाई निशुल्क उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गर्दै आएको वडाध्यक्ष हिरा जिसीले बताए ।गौतमले गत सोमबार र मंगलबार अम्मरपुर स्वास्थ्यचौकीमा स्वास्थ्य शिविर सञ्चालन गरेका थिए । हिमा गौतम स्मृति कोषको नामबाट सञ्चालन भएको स्वास्थ्य शिविरमा गाउँका वृद्धवृद्धा, विपन्न तथा सहाराविहिनको उपचार भएको छ । 

मालिका गाउँपालिका ६ अर्जेकी ७५ वर्षीया लक्ष्मी मुखिया । ६० वर्षदेखि एक्लो जीवन बिताइरहेकी छन् । १२ वर्षमा विहे, १५ वर्षमा दुई सन्तान भए उनका । २० वर्ष नपुग्दै श्रीमान् गुमाएकी मुखियाले कलिलै उमेरमा जन्मिएका सन्तान पनि बचाउन सकिनन् । 

श्रीमान् नरसिंह मुखियाले छोडेर जाँदा उनी दुई जिउकी थिइन् । श्रीमान् बितेर किरियामै बसेको बेला छोरो जन्मियो । श्रीमान गुमाएपनि छोरोको सहारामा बसेकी मुखियाले छोरालाई आठ महिनाभन्दा बढी बचाउन सकिनन् ।

अहिले आफैं अनिन्द्रा, खाना नपच्ने समस्याले पीडित मुखियाको गाउँमै उपचार भयो । उपचार पछि खुसी देखिएकी उनले भनिन, ‘पैसा भए उपचार गर्न उहिल्यै सदरमुकाम पुग्थेँ । गाउँमै डाक्टर आएको पत्तो पाएर बिहानै आएँ ।’ 

अम्मरपुरकी ६१ वर्षीया हरिकला कुमालका तीन वर्षदेखि दुवै आँखा बन्द छन् । उनलाई हातखुट्टा दुख्ने, झम्झमाउने समस्या थपिएको छ । गाउँमै शिविर आएको थाहा पाएर शिविरमा आएकी उनले हाडजोर्नी विशेषज्ञसँग स्वास्थ्य परीक्षण गरिन् । आँखा पनि अप्रेसन गरेपछि निको हुन्छ भन्ने थाहा पाएर उनी खुसी भएकी छन् । 

स्थानीय लाल बहादुर महत पनि ढाड दुख्ने समस्याबाट पीडित थिए । सदरमुकाम र त्यहाँ नभए वुटवल धाउनु पर्ने झन्झट थियो । गाउँमै उपचार गर्न पाएकोमा उनले पनि खुसी व्यक्त गरे । 

मालिका गाउँपालिका ५ की ४० वर्षीया बालकुमारी अर्याललाई छाती दुख्न थालेका थुप्रै भयो । मुटुले काम गर्न छोड्ने हो कि भन्दै चिन्तित बनेकी उनले निशुल्क इसिजी गरिन् । मुटुमा कुनै समस्या नभएको थाहा पाएपछि ढुक्कको सास फरिन् । उनले भनिन, ‘रातिमा दुख्दा त यो नै अन्तिम दिन रहेछ भनेर सम्झन्थेँ, गाउँमै सेवा पाइयो । ढुक्क भएँ ।’ 

हजार जनालाई स्वास्थ्योपचार

सोमबार र मंगलबार सञ्चालन भएको शिविरमा इसिजी, भिडियो एक्स–रेसहितको मुटु, स्त्री रोग, हाडजोर्नी तथा नशा र अन्य विभिन्न रोगका दुई सय ८२ पुरुष र ६ सय ९८ महिलाले उपचार गराएको हिमा गौतम स्मृति कोषका सदस्य सुजनचन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार शिविरमा सबभन्दा बढी हाडजोर्नीका दुई सय ५० जना बिरामीले स्वास्थ्य परीक्षण गराए । गाउँमा काम धेरै हुने तर, आराम र खानपानमा ख्याल नगरेका कारण हाडजोर्नीको समस्या भएको उपचारमा संलग्न डाक्टर उत्तम पच्याले बताए । 

शिविरमा सरसफाई र सचेतनाको अभावमा पाठेघरको संक्रमण भएका ६० महिला र पाठेघरनै खसेका १३ महिलाको उपचार भएको छ । गत वर्ष संचालन भएको शिविरमा पाँच सय ५३ पुरुष र सात सय ४४ जना महिलाले सेवा लिएका थिए ।

शिविर समाधान होइन 

हिमा गौैतम स्मृति कोषका अध्यक्षसमेत रहेका कुलचन्द्र गौतमले राज्यको स्वास्थ्य संयन्त्र कमजोर भएका कारण यस्ता शिविर आवश्यक रहेको बताए । उनले भने, ‘शिविर क्षणिक समाधानमात्रै हो । नागरिकको स्वास्थ्य समस्या समाधान गर्न राज्यले स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्छ ।’ कोषले गाउँमा स्वास्थ्य शिविरमात्रै सञ्चालन गरेको छैन । अमरपुर स्वास्थ्य चौकीको भवन निर्माणका लागि पाँच रोपनी जग्गा उपलब्ध गराएको छ । 

कोषकै संस्थापक सदस्य रहेकी गौतमकी बहिनी सावित्रा गौतमले स्वास्थ्यचौकीलाई ४० वाटको सोलार सेट, सुत्केरी गराउन आवश्यक पर्ने टेवल, गर्भमा रहेको शिशुको मुटुको धडकन नाप्ने डोप्लर, भ्याकुम सेट, भोटो टोपी, स्याचुरेसन मेसिन, तौलने मेसिन तथा रक्तचाप जाँच्ने मेसिन लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएकी छन् । 

आमाको सम्झनामा कोष स्थापना 

कुलचन्द्र गौतमकी आमा हिमाको गाउँको शिक्षा  र स्वास्थ्यका क्षेत्रमा चिन्ता र चासो थियो । उनले गाउँमा छोरी पढाउने अभियान थालेकी थिइन् । साथै उनले विपन्न परिवारको उपचारमा सहयोग पु-याउँदै आइकी थिइन् । वि. स. २०५३ सालमा उनको निधन भएपछि उनकै कामको निरन्तरताका लागि गौतम परिवारले कोष खडा गरेर शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । 

कोषले सामुदायिक विद्यालयमा विपन्न परिवारका बालबालिकालाई निशुल्क कापी कलम, पोशाक तथा खाजा उपलब्ध गराउँदै आएको छ । कोषकै पहलमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई प्रोतसाहनका लागि पुरस्कारको व्यवस्था गर्न १५ लाखको अक्षय कोषको स्थापना गरिएको छ । यसबाहेक अन्य भौतिक संरचना निर्माण, खानेपानी ट्याङ्की तथा धारा निर्माण, मञ्च निर्माणलगायत काम गर्दै आएको छ ।

Source:

https://www.nayapatrikadaily.com/news-details/37344/2020-02-27