फाल्गुन ७ –
कुलचन्द्र गौतम, सुबोधराज प्याकुरेल, कनकमणि दीक्षित
फ रक-फरक पृष्ठभूमि र पेसागत इतिहास भएका र स्वतन्त्र रूपले विभिन्न विषयमा आफ्ना अलग-अलग विचार र विश्लेषण प्रस्तुत गर्ने हामी तीन नागरिकलाई माओवादीका अध्यक्ष निकट पत्रिका ‘लालरक्षक’ले ‘यी हुन्, जनदुश्मन’ आवरण शीर्षक र तस्वीरसहित लाञ्छना लगायो । औपचारिक रूपमा हिंसा त्यागेको घोषणा आजसम्मै नगरेको, मुलुकभर बलमिच्याइँ र ‘भौतिक कारबाही’को आडमा आम नागरिकलाई दबाउन कसरत गरिरहेको र सरकारमा छँदै विद्रोहको डाँको छोड्ने माओवादीको शीर्षस्थको मुखपत्रबाट यस्तो अभिव्यक्ति किन आयो, हामीले बुझ्न कोसिस गरिरहेका छौं ।
पञ्चायतकालमा ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भन्ने दुराग्रह गरेजस्तै माओवादीले सबै जनता माओवादी र माओवादीका विचार र मान्यतामात्र जनवादी र अग्रगामी भन्ने सरासर ढाँट कुरालाई बलजफ्ती लागू गर्न आफ्नो हिंसात्मक सशस्त्र युद्धलाई ‘जनयुद्ध’, पार्टीको संरचनालाई ‘जनसत्ता’ र आफ्नो ‘कङ्गारू कोर्ट’लाई ‘जनअदालत’ भन्यो । यस्तै जस-जसले आफ्नो दलको कुरालाई वैचारिक खण्डन गर्न खोज्छ, ती-ती व्यक्तिलाई सामन्ती र प्रतिगामीको बिल्ला भिराइदिने र आफ्नो ज्यादतीको विरोधमा उत्रने जोकोहीलाई ‘जनदुश्मन’ घोषणा गर्ने माओवादी नीति भएको सर्वविदितै छ ।
माओवादीद्वारा आफ्नो ‘सफाया’को नीति आजैसम्म विधिवत् निलम्बन भएको हामीले सुनेका छैनौं । आफूले भौतिक कारबाही अथवा ‘सफाया’ गर्न चाहने व्यक्तिलाई पहिला आफ्नो क्याडरमाझ घृणाको पात्र बनाउनु माओवादीको भूमिगत छँदादेखिकै तरिका हो । त्यसैले ‘विद्रोह’द्वारा ‘जनसंविधान’ ल्याइछाड्ने घोषणा गर्ने माओवादीले हामी तीन नागरिकलाई जनदुश्मनको संज्ञा दिएर अरू स्वतन्त्र नागरिकलाई समेत तर्साउन आफ्ना कार्यकर्तालाई उत्तेजित पार्न र उक्साहट गर्न खोजेको देखिन्छ ।
माओवादी अध्यक्ष लगायतका केही उच्च नेताको पूर्वस्वीकृति बिना ‘जनदुश्मन’जस्तो गम्भीर आरोप हामीमाथि लगाउने दुस्स्ााहस उक्त पत्रिकाले गर्यो होला भन्ने हामीलाई लाग्दैन । तर उक्त बिल्लाको त्रासले हामी तीन नागरिक डगमगाउने वा आ-आफ्नो क्षेत्रमा आफ्ना स्वतन्त्र विचार अगाडि राख्न कदापि पछाडि हट्ने छैनौं । कायरले मात्र वैचारिक मन्थन गर्नुको साटो बन्दुक, तरवार, धम्की, डर र त्रासको प्रयोग गर्छ । बिना कुनै आधार, परिस्थितिजन्य प्रमाण र बिना सोधपुछ ‘जनदुश्मन’जस्तो गैरजिम्मेवार र उत्तेजक आरोपको आड लिनुपर्ने बाध्यता त्यही कायरताको उपज हो ।
किन दुश्मनी !
आफूभने दर्जनौं अङ्गरक्षक र राज्यले दिएको सुरक्षा घेराभित्र बस्ने अनि निहत्था नागरिकमाथि जाइलाग्ने ‘फतवा’ जारी गर्न किन माओवादी नेतृत्व यसरी ओइरिएको भन्नेमा अलि खोतल्नु जरुरी देखिन्छ । हामी तीनले बेलाबखत स्वतन्त्र विचार र विश्लेषणद्वारा शान्ति प्रक्रिया, मानवअधिकार, संविधान लेखन लगायतका विभिन्न समयमा लिएको अडानले माओवादी स्वयम्लाई पनि राम्रो गर्नुपर्ने
हो । शान्ति प्रक्रिया, अनमिनको आगमन, संविधानसभा चुनावदेखि दोरम्बा हत्याकाण्डको अनुसन्धान, अन्तरिम सरकारको गठन र अन्तर्राष्ट्रिय जगतमा नेपाली ढाँचाको शान्ति प्रक्रियाको वकालत
गरेकै हौं ।
तर माओवादीको ‘जनयुद्ध’ थालनीको औचित्य, उसकै हिंस्रक राजनीति तथा लोकतान्त्रिक पद्धति विरुद्धको एजेन्डाको बारेमा भने हामी आ-आफ्नै किसिमले आलोचक भएको कुरा पनि सर्वविदितै
छ । माओवादीका लागि हाम्रा यी अडान त्यतिबेला अपि्रय लाग्न थालेजस्तो छ, जब ऊ १२ बुँदे सहमति तथा बृहत् शान्ति सम्झौतामा झेली गर्न थाल्यो ।
हुन त हाम्रा कतिपय अडान माओवादीलाई अपाच्य लागेको हुनसक्छ, तर ‘जनदुश्मनी’को कारण हालसालैका केही अभिव्यक्तिसँग सम्बन्धित हुनुपर्छ । हाम्रो अड्कलमा कुलचन्द्र गौतममाथि लुम्बिनी विकासमा माओवादी अध्यक्षको संलग्नता पारदर्शी हुनुपर्छ, हिंसाको राजनीति त्याग्नैपर्छ र शान्ति प्रक्रियामा माओवादीले गरेका कबुल उसले इमानदारीसाथ पालना गर्नुपर्छ भन्ने अनवरत अडान लिएकोले प्रहार गरिएको हुनसक्छ । कसैले त भन्छन्, अरू कतिपय ‘नागरिक अगुवा’जस्तो गौतमलाई ‘उपयोगी’ बनाउन असहज भएकोले पनि माओवादी रूष्ट भएको हुनसक्छ । सुबोधराज प्याकुरेल मानवअधिकारकर्मीको हिसाबले निःसङ्कोच देशव्यापी माओवादी ज्यादती विरुद्ध बोलेको र आममाफी एजेन्डाको सशक्त प्रतिवाद गरेकोले माओवादीको तारो बन्न पुगे । पछिल्लो समयमा पत्रकार कनकमणि दीक्षितले पुष्पकमल दाहालको ‘प्रत्यक्ष राष्ट्रपति’ अथवा ‘प्रत्यक्ष प्रधानमन्त्री’ बन्ने महत्वाकाङ्क्षाको खिलाफमा लेखेकाले उनलाई पनि जनदुश्मन घोषणा गर्नुपरेको पार्टीले ठानेको हुनसक्छ ।
‘लालरक्षक’ पत्रिकाका शीर्षस्थ हाकिमहरूले एउटै ‘जनदुश्मन’ प्रहारबाट बृहत् नागरिक समाजलाई पनि त्रसित गर्न र मुलुकभरिका पत्रकार, अधिकारकर्मी, बुद्धिजीवी, स्थानीय अगुवा लगायतका स्वतन्त्र नागरिकहरूलाई त्रसित बनाउँदै आफ्नो काबुमा राख्न खोजेको पनि अनुमान गर्न सकिन्छ । तर माओवादी नेतृत्वले यो कुरा बिर्सनु हुँदैन कि ०४६ यता नागरिकले स्वतन्त्रताको अक्सिजन चाखिसकेका छन् । माओवादीले आफ्नो पङ्क्तिभित्र स्वच्छ हावा बहन नदिएको होला, तर बाहिर विचार स्वतन्त्र छन् । मुलुकभर खुला समाज छाइसकेको छ र भूमण्डलीकरणको प्रभावले अबको नेपाललाई उत्तरकोरिया वा भूतपूर्व अल्बानियाजस्ता ‘जनगणतान्त्रिक भूस्वर्ग’मा परिणत गर्न असम्भव छ ।
उग्रवाम-दक्षिणपन्थी हिमचिम
कुनै पनि तरिकाले त्रसित बनाउन खोज्दा जिल्ला जिल्ला, गाउँ-गाउँमा अब ‘जनदुश्मन’को आरोपले नागरिक दब्ने अवस्था
छैन । हो, यदाकदा उकुसमुकुसबीच केही क्षण नागरिकले मौनधारण गर्लान्, तर यसलाई माओवादीले आफ्नो विचार तथा क्रियाकलापप्रति जबर्जस्ती सहमति जुटाएको ठान्नु गल्ती हुनेछ । माओवादीका खाओवादी क्रियाकलापले जनतामाझ एउटा भूमिगत ज्वालामुखी उम्लिएर विस्फोट हुने स्थितिमा देश पुग्ने ठूलो डर छ, जसले उसलाई पनि फाइदा हुने छैन । अर्को खतरा यस दिशामा छ कि माओवादीको वाम अतिवादले मध्यमार्गी लोकतन्त्रवादीको ठाउँलाई साँघुरो बनाइदिँदैछ र अर्काे माओवादीले ‘राष्ट्रवादी’ भनी हिमचिम गर्ने ध्रुवको दक्षिणपन्थीलाई बल पुर्याउँदैछ । अब सच्चा प्रगतिशील नेपालीले गम्भीर चिन्ता गर्नुपर्ने विषय त यो छ कि माओवादीका आजका क्रियाकलापले उसको आफ्नो एजेन्डा त सफल हुँदैन -र हुनुहुँदैन), तर दक्षिणपन्थीले समाजमा जरो गाडेर पुरातन युगतर्फ मुलुक धकेल्नबाट देशलाई कसरी बचाउने ।
सामरिक हिसाबले आफ्नो सङ्गठन निर्माण गरेको माओवादीले आफूलाई लोकतान्त्रिक बनाउन नसकेको अथवा नचाहेको हुनाले उसलाई आजैसम्म पनि ‘जनयुद्ध’को बेलाजस्तै काल्पनिक शत्रु घोषित गरेर कार्यकर्ता एकत्रित गर्नुपर्ने अवस्था भएको देखिन्छ । तसर्थ कहिले अमेरिका, कहिले भारत, कहिले नेपाली काङ्ग्रेसलाई उसले विधिवत् दुश्मनको संज्ञा दिएको छ । आफ्नै नेता रातारात नवधनाढ्य र विलासी भएको, ठूलठूला धनी-व्यापारीलाई संरक्षण दिएर ‘चन्दा’ असुलीबाट आफ्ना होलटाइमर पालेको कुरालाई ढाकछोप गर्दै, आफ्नो विचारसँग असहमति राख्ने जोकुनैलाई ‘कुलिन’, ‘सम्भ्रान्त’ ‘सुकिला-मुकिला’को पगरी गुँथाइदिएर अर्काथरी कृत्रिम शत्रु खडा गर्दैछ । यसरी शत्रुको आरोपमा परिएला कि भन्ने डरले
कतिपय नागरिक अगुवा र बौद्धिकहरूले जानी-जानी माओवादीको ज्यादतीबारे नबोलेको वा लटरपटर कुरा गर्नेछन् भन्ने ठहर माओवादीले गरेको देखिन्छ ।
ँजनशत्रु” को अडान
हामी तीन नागरिकले डा. बाबुराम भट्टराईलाई आफ्नो पार्टीको नभई समग्र जनताको प्रधानमन्त्री भएको नाताले २२ माघ २०६८ मा पत्र लेखेका थियौं । उक्त पत्रमा हामीले आफ्नो सुरक्षा माग गरेका थिएनौं, नागरिकको सुरक्षाको जिम्मेवारी पाएको शीर्षस्थ पदाधिकारीसँग हत्याको उक्साहट गर्ने र त्रास फैलाउन लागिपरेको पत्रिकाको उक्त आवरण र लेखबारे सरकार प्रमुखको सार्वजनिक प्रतिक्रिया मागेका थियौं । यस्तै प्रेस स्वतन्त्रताको आवरणमा ‘सफाया’ गर्ने प्रवृत्तिको उक्साहट गर्ने आफ्नो दलसम्बद्ध पत्रिका तथा सम्पादक विरुद्ध उपयुक्त कारबाहीको माग गरेका थियौं ।
प्रधानमन्त्री भट्टराईले हाम्रो मागको बेवास्ता गरेकोबाट उहाँको मानवीयता तथा स्वतन्त्र समाजबारे संवेदनशीलतामा कमी भएको झल्कन्छ । प्रधानमन्त्रीको कार्यालयबाट ‘सुरक्षा चाहिए दिन तयार’ भन्ने फोन खबर त आयो, जुन कुरा न हाम्रो पत्रमा उल्लिखित थियो न हाम्रो माग थियो ।
हामीलाई ‘जनशत्रु’ भन्ने दललाई हामी यसो भन्छौं ः बन्दुकको घेरामा बसेर अरूलाई तर्साउने जमाना सिद्धिइसक्यो । दुई-दुईवटा जनआन्दोलनले आर्जेको नेपालको खुला समाजमा अब ‘पुलिस स्टेट’को कल्पना पनि हामी गर्न सक्दैनौं । स्वतन्त्र नेपाली नागरिक हुनुको ऊर्जा नै यो एक्काइसौं शताब्दीको हाम्रो माटोको सौगात हो ।
कसैले भन्लान्, माओवादीभित्र ठूला चिरा छन् र हामीमाथि खनिने कुनै एउटा खेमामात्र हो । त्यसोभए खै त अरू खेमा बोलेको ? बाटा र रणनीति यदाकदा फरक देखिए पनि गन्तव्य एउटै हुनाले सबै माओवादी नेताको खोलमुनिको हिंसाप्रतिको लगाव उत्तिकै बलियो देखिन्छ । कसैले प्रस्ट भन्छ, कसैले मनमा राख्छ, तर भन्दैन । सायद ‘लालरक्षक’ले सबैको मनको कुरा बोलिदिएको हो, आम नागरिकलाई तर्साउँदा दल अगाडि बढ्छ कि भन्दै । तर यस्तो लगावले न माओवादी दलको भलो हुन्छ, न देशको ।
संविधान लेखनको यस अन्तिम घडीमा पनि शान्ति प्रक्रिया अझै टुङ्गएिको छैन । सदनको सबैभन्दा ठूलो दलले आफ्नो हिंसाको नीति त्यागेको प्रमाण कतै भेटिएको छैन । एक्काइसौं शताब्दीमा विश्व समुदायले आदर गर्ने र नेपाली जनताले गौरव गर्ने खालको अग्रगामी परिवर्तन चाहने माओवादी पार्टीको मनसुवा हो भने हामी विनम्र अनुरोध गर्छौं, माओवादीले जनतासामु छातीमा हात र प्रकृतिलाई साक्षी राख्दै राजनीतिमा हिंसा त्यागेको सार्वजनिक घोषणा गरोस् ! हिंस्रक राजनीति मच्चाएकोमा क्षमा मागोस्, जनतासँग । र त्यति गरेपछि उसलाई एक शान्तिपूर्ण, लोकतान्त्रिक, प्रगतिशील दलको रूपमा आफ्नो र यो देशकै रूपान्तरण गर्नमा सफलता मिलोस् !
प्रकाशित मिति: २०६८ फाल्गुन ८ ०९:३५
Link: http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=264334