महासभामा नेपाली उम्मेदवारी

महासभामा नेपाली उम्मेदवारी

एसियाली क्षेत्रका राजदूतहरूले २५ फरबरी, २०११, (फागुन १३, २०६७) का दिन न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाका नयाँ अध्यक्ष चुन्दैछन् । यस चुनावमा नेपालका तर्फबाट उमेदवारी दिने कुलचन्द्र गौतम निकै मनपराइएका उम्मेदवार हुन पुग्नु भएको छ। चुनावमा प्रतिस्पर्धा गरिरहेको कतारले नेपालमा परराष्ट्र मन्त्री नियुक्त हुन नसकेकाले होला प्रधानमन्त्री झलनाथ खनाललाई भेट्न अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका राज्यमन्त्री खालिद बिन मोहमद अल अत्तियालाई नेपाल पठाएको छ। उनी प्रधानमन्त्री खनाललाई भेट्ने एसियाली देशबाट पहिलो आगन्तुक हुनेछन्। नेपालले उनको स्वागतार्थ विछ्याएको रातो कार्पेट भने निकै आश्चर्यजनक छ। किनभने अघिल्लो महिनामात्र यसै सन्दर्भमा कुराकानी गर्न नेपालबाट क्याबिनेट स्तरका मन्त्री पठाइएका थिए। कतार सरकारले सामान्य शिष्टाचारको पालनासमेत गरेन। अहिले वरीयताका दृष्टिमा सबैभन्दा पछिल्लामध्येको राज्यमन्त्रीलाई सोही प्रयोजनका लागि नेपाल पठाएको छ।

न्युयोर्कमा कतारले केही विकास योजनाका नाममा वा अन्य दबाब दिएर नेपाललाई आफ्नो पक्षमा पार्ने र उमेदवारी फिर्ता लिन लगाउला कि भन्ने सन्देह गरिँदैछ। हालैका केही वर्षमा कतारले अन्तर्राष्ट्रिय मंचहरूमा अन्य देशका उमेदवार वा मत किन्ने गरेको छ। यस्ता ‘चेकबुक कूटनीति’ले यस मुलुकले विभिन्न सफलता र केही उच्च पद हात पार्न सफल भएको छ। संयुक्त राष्ट्रसंघमा मात्र होइन फिफा विश्वकप (सन् २०२२) जस्तो विश्व स्तरको खेलकुद प्रतियोगिता पनि यस्तै उपाय अपनाएर प्राप्त गरेको छ। यस प्रकारको दबाब र प्रलोभन नेपालले थेग्न सक्छ वा सत्तै्कन भन्नेर नै खनाल सरकारको पहिलो परीक्षा र राष्ट्रियतासम्बन्धी सरकारी नीतिको पहिलो परिचय हुनेछ।

बहुमत एसियाली राष्ट्रले नेपालका उमेदवारलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका छन्। एसियाका प्रमुख आद्योगिक राष्ट्रहरू, प्यासिफिक आइल्यान्ड, दक्षिण र दक्षिणपूर्वी एसियाली देशमात्र होइन केही मध्यएसियाली र अरब खाडीका देशले पनि नेपाली उमेदवारलाई गोप्य मतदानमा मत दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यसकारण कतारले आफ्नो जित निश्चित गर्न नेपाललाई उम्मेदवारी फिर्ता लिन प्रलोभन वा दबाब दिनसक्छ।

यस चुनावमा उमेदवारको पात्रता र क्षमता तर्क र विश्वसनीयताका आधारमा नेपालको अवस्था कतारका तुलनामा बलियो देखिएको छ। हालका केही महिनामा नेपालका उम्मेदवारले आश्चर्यजनकरूपमा आफ्नो समर्थन र चुनावी गति बढाएकै बेला कतारको दबाब वा प्रलोभनका सामु काठमाडौं झुक्न र उम्मेदवारी फिर्ता लिनसक्ने सन्देह उत्पन्न भएको छ।

अप्रिल २०१० तिर कतारका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई उमेदवारी फिर्ता लिन पत्राचार गरेका थिए। यसको उत्तरमा नेपालले आफ्ना उम्मेदवारलाई सघाउन कतारसँग अनुरोध गरेको थियो। पत्रमा पाँच वर्षअघि कतारको नजिकको छिमेकी देश बहराइन एसियाबाट अध्यक्ष बनेको तर बितेको ६ दशकमा नेपालबाहेक दक्षिण एसियाका सबै मुख्य देशहरू महासभाको अध्यक्षमा निर्वाचित भैसकेकाले उक्त पदका लागि नेपाली आकांक्षा उचित रहेको उल्लेख गरिएको थियो। सद्भावना र मित्रताको संकेतस्वरूप नेपालले पछिल्लो वर्ष संयुक्त राष्ट्रको आर्थिक तथा सामाजिक परिषद्बाट आफ्नो उमेदवारी फिर्ता लिएको थियो , त्यसले कतारलाई उक्त पदमा निर्वाचित हुन सघायो। अब नेपालका पक्षमा सद्भाव देखाउने पालो कतारको हो।

दरिला उम्मेदवार

नेपालले उत्कृष्ट कार्यदक्षता र अनुभव भएको उम्मेदवार उठाएको छ। कुलचन्द्र गौतम संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव र युनिसेफका उपकार्यकारी निर्देशक पदमा सेवा गरिसकेका व्यक्ति हुन्। नेपालका प्रधानमन्त्रीका परराष्ट्र मामिला र शान्ति प्रवि्र्कयासम्बन्धी विशेष सल्लाहकार पनि रहिसकेका छन्।

यही हिउँदमा गौतम र संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले त्यहाँका ५३ मध्ये ४८ जना एसियाली राजदूत र एक दर्जनभन्दा बढी गैरएसियाली राजदूतसँग छलफल गरे। गौतम ­ आचार्य जोडीले नेपालको उम्मेदवारी विषयमा सशक्त र प्रभावशाली प्रस्तुति राखे। गोप्य मतदान भए नेपालले जित्ने पक्का छ।

यस्तो स्थितिमा कतारले आर्थिक लोभ देखाउन सकिने वा संकीर्ण ऐक्यबद्धताका कारण मत दिनसक्ने मुलुकमा ‘लबिङ’ गर्ने निर्णय गरेको छ। यही कारणले उसले भारत, चीन, जापान, कोरिया वा सिंगापुरजस्ता मुलुकसँग मत मागेको छैन। बरू कतार नेपाल सरकारलाई प्रभावित पार्न प्रत्यक्ष कोसिस गर्दैछ।

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्राप्त हुनै लागेको एउटा प्रतिष्ठापूर्ण जितलाई प्रधानमन्त्रीले त्यत्तिकै गुम्नबाट रोक्नुपर्छ। संयुक्त राष्ट्र महासभामा हुने जीत नेपालीको आत्मविश्वास जगाउन प्रेरक बन्नसक्छ। द्वन्द्वपछिका वर्षहरूमा पनि कुनै सामाजिक र आर्थिक उत्थान चाख्न नपाएका नेपालीका लागि राष्ट्रंघीय महासभाको अध्यक्षको पदले कतारले दिनसक्ने सानातिना परियोजनाभन्दा निकै बढी आर्थिक तथा विकासको लाभ दिनसक्नेछ।

महासभाको लागि नेपालको उमेदवारी नेपालका सबै प्रमुख राजनीतिक दल तथा नेताहरू एकमत भएको बिरलै भेटिनेे दुर्लभ अवसरमध्ये एक हो। उनीहरू राष्ट्रिय गौरव र इज्जतका लागि एकमत भएका हुन्। नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा हामी ऐतिहासिक विजयको नजिक छौं। यस्तो अवस्थामा प्रधानमन्त्री खनालले कतारलाई दबाब वा प्रलोभनको रणनीति अपनाउनुको साटो संयुक्त राष्ट्रको परम्पराअनुसार गोप्य मतदानमा जान अभ्यास गर्न शिष्ट आग्रह गर्नुपर्छ।

किरण तिवारी
लेखक अन्तर्राष्ट्रिय अनुभव भएका विकासकर्मी हुन्।