‘रेभ्युलुसन अफ राईजिङ एक्सपेक्टेसन’ असंतोषको कारक तत्व हो

संयुक्त राष्ट्र संघका निवृती प्राप्त पूर्व सहायक महासचिव तथा यूनिसेफका पूर्व कार्यकारी उप-निर्देशक कुलचन्द्र गौतम हाल नेपालका प्रधान मन्त्रीका विशेष सल्लाहाकार हुनुहुन्छ । वांहा सन् २०११ का लागि संयुक्त राष्ट्रसंघको महासभाको सभा-अध्यक्षका उमेद्धवार पनि हुनुहुन्छ । गौतम कुटनैतिक पहल कदमीका लागि अमेरीका आउनु भएको बेला वासिंटन डिसिमा वांहासंग नेपाल मिडिया क्याफेले गरेको कुराकानीको सार संक्षेप -:

तपाई लामो समय बिदेशमा बसेर देश पुग्नु भयो, तपाईका पुराना साथीहरुसंग भेट हुन्छ ?

भेटिरहेको छु । कतिपय त विर्सिसकेका मेरा पुराना साथीहरु समेत भेटेको छु ।

तपाईलाई भेट्दा तपाईका साथीहरुको प्रतिकृया कस्तो रह्यो ?

एक खालका साथीहरु जो म जन्मे हुर्केको गाउँमा थिए र अहिले पनि तिनीहरु गाउँमा नै छन् । अर्का खाले भनेका म पढ्दाको समयका थिए, उनिहरु मध्ये केहि त आ-आफ्नो जिवनमा निक्कै सफल पनि भएका छन् । यसकारण गाउँका साथीहरुको प्रतिकृया र पढ्दाका वखतका शहरका साथीहरुको प्रतिकृया फरक फरक खाले हुन्छन । मेरा गाउँका साथीहरुले मलाई अर्कै संसार पुगेर आएको यो भिन्न खाले मान्छ हो भन्ने खाले प्रतिकृया दिन्छन ।

तपाईको गाउँठाउँ देख्दा तपाईलाई नै चाहिं कस्तो लाग्यो ?

विश्व कहाँ पुगीसक्यो तर पनि हाम्रो देशका गाउँघरले भने कस्तो संघर्ष गरिरहनु परेको छ । तैपनि हाम्रो ठाँउको समाजको मिठोपना, सिधापन, सहयोगको भावना भने निक्कै उचो छ । आफ्नै भाग्यलाई दोष दिने र संतोष नै मानेर वस्ने गरेको मैले पाए । यो कुरा गाउँघरका सामान्य मान्छेको हो । गाउँघरकै पनि शहरतिर दगुरेका र विशेष गरि शहरका मान्छेहरुमा भने ‘फ्रस्टेसन’, सरकारलाई गाली गर्ने र राजनीतिलाई एकोहोरो दोष दिने अनि आफु आफ्नो काममा भने सिन्को नभाच्ने प्रवृत्ति पाए ।

विकासमा पछाडि परेको कारण राजनीतिलाई कारक मानेर यो प्रतिकृया आएको हुनसक्ला नि हैन ?

त्यो पनि हुन सक्ला । तर हाम्रो गाउँघरमा २५-३० वर्ष अगाडि एउटा पनि स्कुल थिएन, हेल्थ पोष्ट थिएन । अहिले एउटै गाउँमा ८-१० वटा स्कुल भैसके, हेल्थ पोष्ट भैसके । खाने पानी थिएन । हाम्रा महीलाहरुले पानी लिन २-३ घण्टा उकाली ओराली गर्नु पर्दथ्यो, अहिले पानी टोलटोलमा आईसक्यो । यि कुराहरुवाट संतोष मान्ने नेपालीहरु पनि थुप्रो देखे मैले ।

त्यसो भए असंतोषको मुख्य कारण तपाई के देख्नु हुन्छ ?

‘रेभ्युलुसन अफ राईजिङ एक्सपेक्टेसन’ प्रमुख कारण हो । हुने खानेले कस्तो लुगा लाउछन, कस्तो गहना लाउछन, कस्ता गाडी चढ्छन, खाने कुरा के कस्तो र कसरी खान्छन भन्ने कुरा टेलिभिजनमा देखाईन्छ नि, त्यो त सबैले देख्छन । त्यो देखेपछि आफुले सक्ने-नसक्ने विचार नै नगरी त्यस कुराको चाहना बढि हाल्ने र त्यो कुरा चाहि नै हाल्ने मनोप्रबृति छ । टेलिभिजनमा देखिने यस्ता कुरा नेपाली जनसाधारणमा आफ्नो जिवनमा हामीले पुरा गर्न नसकुला । यस परिस्थीतिमा मानिसमा ‘डिप्रेसन’ बढ्न थाल्छ, आफु निकै पिछडिएको महशुस गर्न थाल्छ । यस पछिको अवस्था आक्रमक प्रकृतिको हुन्छ । त्यसकारण म ‘राईजिङ एक्सपेक्टेसन’ लाई कारक तत्वको रुपमा देख्छु ।

अस्वस्थ प्रतिस्पर्धालाई यसको कारण मान्नु हुन्न ?

अस्वस्थ प्रतिस्पर्धा पनि ‘रेभ्युलुसन अफ राईजिङ एक्सपेक्टेसन’ वाट नै सृजना हुने कुरा हो । यसमा आगोमा घिउ थप्ने काम राजनैतिक समुहको पनि हुन्छ । बजार, मिडिया र राजनैतिक समुहले ‘एक्सपेक्टेसन’ ‘क्रिएट’ गर्छ । सकारात्मक ‘एक्सपेक्टेसन’ ले विकासमा मद्दत पुर्याउछ र नकारात्मक ‘एक्सपेक्टेसन’ ले असंतोष पैदा गरि दन्द्ध सृजना गर्छ ।

संसारका ‘लेटेष्ट’ समाग्री नेपालको बजारमा उपलव्ध हुन्छ तर देश चांहि गरिब मानिन्छ, कारण के होला ?

नेपालमा गरीबी बढिरहेको छैन घटिरहेको छ । तर गरिब र धनि विचको खाडल भने झन झन बढिरहेको छ । नेपालमा रातारात ‘मिलिनियर’ हुनेहरु पनि छन । सायद यहि वर्गका कारण नेपालको बजार यस किसिमको भएको हुन सक्ला । यसको मतलब नेपाल धनी नै भएको भन्ने चांहि होईन । असमानता प्रसस्त छ । यो ‘ग्याप’ ले विकासमा वाधा पुर्याउछ ।

यो दुरीलाई कम गर्न कसरी सकिएला ?

जे भए पनि विकासका लागि राजनैतिक स्थीरता, राजनैतिक इच्छा शक्ति र राजनैतिक प्रतिवद्धताकै कुरा हुन्छ । उदाहरणका लागि २०५१ सालमा एमालेले सरकार संचालन गरेको बेला “आफ्नो गाउँ आफै बनाउँ” भन्ने कार्यक्रम ल्याएको थियो । त्यस कार्यक्रमले गाउँ घरको विकासमा काया पलट नै गरिदियो । यस कार्यक्रमले भौतीक पुर्वाधारको विकास र मानविय चेतनाको विकास दुवै क्षेत्रमा ठुलो उपलव्धी हासील गरेको थियो । मानविय स्रोत परिचालनमा पनि यसको महत्व ठूलो रह्यो । प्रजातान्त्रीक हिसावले हेर्दा यस कार्यक्रमले स्थानिय सरकारको शक्ति निर्माण गरेको थियो । प्रजातान्त्रीक अभ्यासमा यसको महत्व ठूलो हुन्छ । त्यसकारण साच्चै गर्छु भन्ने राजनैतिक इच्छा शक्ति भएमा हाम्रो देशका गाउँघर र न्युन तथा न्युन मध्यम वर्गको विकासमा सम्भावना प्रसस्त छन । राजनैतिक दलहरुमा यो शक्ति नभएको पनि हैन तर राजनीतिमा ‘फोकस’ भएको कारण आर्थिक विकास ओझेलमा परेको छ । अव यस शक्तिलाई आर्थिक विकासमा लगाउन जरुरी छ ।

संयुक्त राष्ट्र संघको महासभाको सभा-अध्यक्षको पदमा नेपालको उमेद्धवारी परेको छ । यसको उमेद्धवार तपाई हुनुहुन्छ, सदस्य राष्ट्रहरुले हाम्रो उमेद्धवारीलाई कसरी हेरेका छन ?

हाम्रो देशमा आन्तरीक झै-झगडा हुनु र पूर्णरुपमा शान्ति स्थापना भैनसकेको भएता पनि अन्तराष्ट्रिय क्षेत्रमा हाम्रो छवि राम्रो छ । हामी संयुक्त राष्ट्रसंघको पुरानो सदस्य राष्ट्र हौं । शान्ति सेनामा ८० हजार भन्दा बढि नेपाली सेनाले योगदान पुर्याएका छन । ६२ जनाले त वलिदानी नै दिएका छन । नेपाल शान्ति स्थापनाका क्षेत्रमा संयुक्त राष्ट्रसंघलाई योगदान दिने छैठौ ठूलो राष्ट्र हो । यस कारण सदस्य राष्ट्रहरुमा हाम्रो उमेद्धवारी प्रतिको दृष्ट्रिकोण सकारात्मक नै छ ।

हामीसंग अहिले प्रतिस्पर्धाका लागि कतार छ हैन ?

हो, अहिले हामी र कतार उमेद्धवारका रुपमा उभिएका छौ । संयुक्त राष्ट्रसंघको महासभाको सभा-अध्यक्षको कार्यकाल एक वर्षको हुन्छ । एशिया महादेशको पालो प्रत्येक ५ वर्षमा एक पटक आउँछ । सन् २०११ एशियाको पालोमा पर्छ । एशियाका ५३ सदस्य राष्ट्रहरुले यसमा उमेद्धवारी दिन पाउने कारण यस पटकका लागि नेपालले पनि उमेद्धवारी दिएको हो । हामीसंग प्रतिस्पर्धाका लागि कतार आएको छ । हामीलाई आशा छ कतारले हामीलाई समर्थन गरेर आफ्नो उमेद्धवारी फिर्ता लिनेछ ।

कतारको उमेद्धवारी फिर्ता गराउन फहल कदमी भैरहेको छ ?

हामी यसको प्रयास गरिरहेका छौ । तर अहिलेसम्म कतार यसमा तयार भएको छैन । उ हाम्रो उमेद्धवारी फिर्ता गरिदिए हुन्थ्यो भन्ने प्रयासमा लागेको छ, यो सामान्य कुरा हो । हामीले पनि उमेद्धवारी फिर्ता लिने कुरा नै आउदैन । संयुक्त राष्ट्रसंघका अन्य विभिन्न पदहरुमा कतारले उमेद्धवारी दिएको छ, हाम्रो उमेद्धवारी त यसमा मात्र हो । त्यसकारण कतारले यसबेला हामीलाई सहयोग गरोस, अरु कुरामा हामीले उसलाई सहयोग गर्ने प्रसस्त ठाँउहरु छन भन्ने हाम्रो भनाई हो ।

यदि उसले उमेद्धवारी फिर्ता लिएन भने चुनाब कसरी गराईन्छ ?

चुनाब सम्म नै पुगीयो भने त आउँदो जुन महिनामा संयुक्त राष्ट्रसंघमा सिधा र खुल्ला चुनाब हुने हो । सम्पूर्ण सदस्य राष्ट्रहरुले आ-आफ्नो मतदान गरेर बहुमतका आधारमा चयन गरिन्छ । तर चुनाबमा पुग्नु भन्दा ३-४ महिना अगाडि एशियामा रहेका सदस्य राष्ट्रहरुको मत एशिया समुहका अध्यक्षद्धारा गोप्य रुपमा बुझ्ने काम हुन्छ । त्यसलाई ‘स्त्रपोल’ पनि भनिन्छ । त्यसमा जसको कम सम्भावना देखिन्छ उसलाई गएर तपाईको मत कम छ, किन मिलेर नजाने भन्ने काम हुन्छ । त्यसलाई मानेर उमेद्धवारी फिर्ता पनि हुनसक्छ तर मान्नै पर्छ भन्ने छैन । त्यसकारण यदि चुनाब नै भयो भने चाहिं खुल्ला रुपमा नै हुने हो ।

चुनाव नै भयो भने हामीले जित्ने आधारहरु के देखिन्छन ?

सन् १९५९ मा फिलिपिन्सका कार्लोस रोमुल्लो सभा-अध्यक्ष भए, सन १९५३ मा दक्षिण एशियावाट सवभन्दा पहिलो श्रीमती विजय लक्ष्मी पंडित सभा-अध्यक्ष भईन जो जवाहरलाल नेहरुकी बहिनी हुन । त्यसैगरी पाकिस्तान, श्रीलंका र बंगलादेशले दक्षिण एशियावाट पालो पाएको छ । पालो नपाएको र संयुक्त राष्ट्रसंधको पुरानो सदस्य राष्ट्र नेपालले पालो पाउनेमा कसैको आपत्ति हुने कुरै आउदैन । अर्को कुरा यो भन्दा पहिले अर्थात ४ वर्षअगाडि वाहरेन भएको थियो, त्यो पश्चिम एशियावाट भयो । त्यो भन्दा पहिले दक्षिण कोरिया भएको थियो , त्यो पूर्वी एशिया भयो । त्यो भन्दा पहिले मलेशीया भएको थियो त्यो चांहि दक्षिण पूर्वी एशिया भयो । सन १९८६ मा बंगलादेश पछि दक्षिण एशिया परेको छैन । २५-२६ वर्ष दक्षिण एशियाले पालो पाएको छैन त्यसकारण यो पालो हाम्रो हो भन्ने हाम्रो दाबी छ । यसमा धेरैको सहमति पनि छ ।

हाम्रो प्रतिस्पर्धी कतार कुन आधारमा कमजोर मानिन्छ ?

संयुक्त राष्ट्र संघमा हामी पुरानो सदस्य राष्ट्र हुनु, शान्ति स्थापनाका लागि हाम्रो ठूलो योगदान रहनु र यो भन्दा ठिक पहिले एशियाको पालोमा पश्चिम एशियावाट वहारेनले त्यो पद पाउनु अनि कतार पनि त्यसै क्षेत्रको सदस्य राष्ट्र भएकाले हाम्रो तुलनामा कतारको दावी कमजोर हो भन्ने देखिन्छ । फेरी अर्को कुरा कतारले धेरै पद र कार्यक्रमका लागि उमेद्धवारी दिएका कारण सबै कुरा कतारलाई मात्र किन भन्ने पनि सदस्य राष्ट्रको प्रश्न रहन्छ ।

अन्त्यमा, आशा गरौं हामीले यो पद प्राप्त गर्नेछौ । त्यसका लागि चुनाब नै भए जित्नका लागि के कस्ता पहल कदमी भैराखेका छन ?

आ-आफ्ना ठाउँवाट सकिनेसम्म भैराखेको छ । प्रधान मन्त्री स्वयमले यो प्रयास गरिरहनु भएको छ । हाम्रा कुटनैतिक नियोक र हाम्रा मित्रराष्ट्रहरुवाट पनि पहलकदमी भैरहेको छ । व्यक्तिगत रुपमा म र मेरा मित्रहरुको प्रयास पनि जारी छ । जे जति सकिने हो सकिनेसम्म सबै क्षेत्रवाट प्रयास जारी छ ।

स्रोत: नेपाल मिडिया क्याफे डट कम