आज हामीले संयुक्त राष्ट्रसङ्घको ६३ औँ वाषिर्कोत्सव मनाइरहेका बेला राष्ट्रसङ्घ हाम्रो दैनिक जीवनमा तथा नेपालको शान्ति र सम्मुन्नतिका निम्ति कसरी आबद्ध भएको छ त भन्ने विषयमा प्रश्न गर्नु सान्दर्भिक हुन्छ ।
हामीहरूमध्ये धेरैले राष्ट्रसङ्घलाई न्युयोर्क, जेनेभा, पेरिस र रोमजस्ता सहरहरूमा ठूलाठूला सभा सम्मेलनको आयोजना गर्ने निकै टाढाको संस्थाको रूपमा मात्र सोच्ने गर्छौं । यदाकदा विश्वका ठूला शक्तिशाली राष्ट्रहरूले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा युद्ध र शान्तिसम्बन्धी मुद्दाहरूमा छलफल गरिरहको वा हाम्रा नेताहरूले राष्ट्रसङ्घको वाषिर्क महासभालाई सम्बोधन गरेको हाम्रा टेलिभजनका पर्दाहरूमा देख्ने गर्छौं ।
हालसालै नेपालस्थित राष्ट्रसङ्घीय नियोग -अन्मिन)का अधिकारीहरूले हाम्रा राजनीतिक नेतृत्वलाई बारम्बार भेटेको, यसका गाडीका ताँती सडकमा जाताततै दौडिएको र माओवादी लडाकु र उनीहरूको शिविरको अनुगमन गरेको पनि देखिरहेका छन् ।
तर राष्ट्रसङ्घले मलाई के सहयोग गरेको छ त ? के राष्ट्रसङ्घ मेरा गाउँ वा समुदायका समान्य मानिसका लागि पनि महìवपूर्ण छ त ? कि यो खाली शक्ति र प्रभाव भएका ठूलाबडा मानिस वा सहरका लागि मात्र काम लाग्ने संस्था हो भन्ने प्रश्न पनि हाम्रो मनमा उब्जन सक्छ ।
राष्ट्रसङ्घले हामी सबैको जीवनमा ठूलो प्रभाव पारेको छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ तर कुनै न कुनै तरिकाबाट राष्ट्रसङ्घले गरेका कामले हरेक नेपालीको जीवनलाई छोएको हुन्छ ।
गत हप्ता मैले नेपालका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूले सञ्चालन गरेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यको अवलोकन गर्न विभिन्न जिल्लाको भ्रमणमा गएको थिएँ । त्यस अवसरमा ती ५० हजार महिला स्वयंसविकाले देशभरका झण्डै ३५ लाख बालबालिकासम्म सेवा पुर्याएका थिए । यस्तो महान कार्यबाट लाखौँ नेपालीको जीवन रक्षा हुनुका साथै स्वास्थ्यमा लाभ पुगेको थियो । यसमा सहयोग गर्ने संस्थ्ाहरूमध्ये संयुक्त राष्ट्रसङ्घीय बालकोष -युनिसेफ) र विश्व स्वास्थ्य सङ्गठन थिए ।
मैले ग्रामीण स्वास्थ्य चौकीहरू, सहरी स्वास्थ्य केन्द्रहरू र जिल्ला अस्पतालहरूमा ती राष्ट्रसङ्घीय निकायहरूले अति आवश्यक औषधि तथा खोपहरू पुर्याइ रहेको देखेँ । ती संस्थाहरूमा कार्यरत धेरै स्वास्थ्यकर्मीले राष्ट्रसङ्घीय निकायहरू जस्तै राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, विश्व खाद्य कार्यक्रम, युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा सरकाले उनीहरूलाई तालिम दिएकोे कुरा बताएका थिए ।
प्राथमिक विद्यालय र नेपालका शिक्षक तालिम केन्द्रहरूमा धेरै शिक्षक तथा विद्यार्थीहरू युनेस्को र युनिसेफको सहयोगमा सञ्चालित शिक्षक तालिम र ती संस्थाले उपलब्ध गराएका पाठ्यपुस्तकहरूबाट आफूहरू लाभान्वित भएका छन् तर उनीहरूलाई त्यस्तो सहयोगबारे थाहा नहुन सक्छ ।
नेपालले भुटानी र तिब्बती शरणार्थीका कारण भोग्नु परेको बोझलाई सामना गर्न शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयले सहयोग पुर्याइरहेको छ । त्यस्तै मानवअधिकार सम्बन्धी उच्चायुक्तको कार्यालले विद्रोही वा सरकारी फौजबाट भएका मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन र त्यसलाई सार्वजनिक गर्न सहयोग गर्नुका साथै आम नागरिकको मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई सहयोग पुर्याउँदै आएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले हामीलाई बालश्रमविरुद्ध जुध्न सहयोग गर्छ । खाद्य तथा कृषि सङ्गठनले कृषिसम्बन्धी तालिम दिने र खाद्य सुरक्षाको सुनिश्चितता गर्न सहयोग पुर्याउँछ । राष्ट्रसङ्घीय विकास कार्यक्रमले सुशासनसको विषयमा सहयोग गर्छ । समग्र राष्ट्रसङ्घीय प्रणालीले कोसीको बाढी, एचआईभी/एड्सको खतरा अथवा बर्ड ˆलुको भयावह आपतकालीन अवस्थामा हामीलाई सहयोग गरेको छ । राष्ट्रसङ्घले नेपाललाई हाम्रो बिग्रँदो पर्यावरण र जलवायु परिवर्तनबाट यसमा पर्न सक्ने प्रभावलाई कसरी रोक्ने भन्ने विषयमा जनचेताना अभिवृद्धि गर्न सहयोग गर्दछ ।
राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा काम गरेका नेपाली सिपाही तथा प्रहरीहरूको विप्रेषण -रेमिट्यान्स) ले धेरै समुदायको स्थानीय अर्थतन्त्रमा ठूलो सहयोग पुर्याएको छ ।
यी सब उदाहरणबाट के देख्छाँै भने हामीले अनुभूति गरेको भन्दा पनि बढी मात्रामा राष्ट्रसङ्घले हाम्रो जीवनमा प्रभाव पारेको छ । हामीकहाँ यसको भूमिका विज्ञान र प्रविधि, कृषि र उद्योग, व्यापार तथा वाणिज्य, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्राविधिक सहयोग गर्ने, वस्तुगत सेवा दिनेदेखि विकास निर्माण योजनाहरूमा, मानवीय सहायता र मानव अधिकारको संरक्षण तथा मानवीय विसङ्गतिहरूको नियन्त्रणजस्ता क्षेत्रसम्म विश्वमान्य नीति निर्धारण गर्न सरसल्लाह दिने कुरासम्म फैलिएको छ ।
नेपाल विगत ५३ वर्षदेखिसंयुक्त राष्ट्रसङ्घको एउटा सक्रिय र विश्वासिलो सदस्यका रूपमा रहँदै आएको छ र राष्ट्रसङ्घ नेपालको सच्चा मित्र र सहयोगीका रूपमा रहँदै आएको छ ।
आफूले संयुक्त राष्ट्रसङ्घको सहयोग प्राप्त गर्नु बाहेक नेपालले पनि राष्ट्रसङ्घको कामलाई विश्वव्यापी रूपमा सफल बनाउन ठूलो योगदान दिँदै आएको छ ।
नेपालले राष्ट्रसङ्घको बडापत्रमा उल्लेख भएका सिद्धान्त र मान्यताप्रति सधैँ आफ्नो उच्च विश्वास प्रकट गर्दै आएको छ । नेपालको वर्तमान अन्तरिम संविधानमा समेत राष्ट्रसङ्घीय बडापत्र नेपालको परराष्ट्र नीतिको एक निर्देशक सिद्धान्तको स्रोतका रूपमा रहने कुरा उल्लेख गरिएको छ ।
विश्वमा शान्ति र सुरक्षा प्रवर्द्धन गर्ने प्राथमिक जिम्मेवारीबाहेक राष्ट्रसङ्घले २१ औँ शाताब्दीमा देखा परेका नयाँ मुद्दाहरू जस्तै आतङ्कवादको चुनौती, निःशस्त्रीकरण, मानवअधिकार, सन्तुलित विकास र गरिबी निवारण जस्ता कुरामा मुख्य भूमिका निर्वाह गर्नु पर्छ भन्ने नेपालको दृढ धारणा छ ।
नेपाल जस्ता साना मुलुकहरूले राष्ट्रसङ्घीय प्रणाली र बहुपक्षीय संस्थाहरूमा निश्चय नै ठूलो भूमिका निर्वाह गर्न सक्छन् । विगतमा नेपालले राष्ट्रसङ्घमा निकै सक्रिय र रचनात्मक भूमिका निर्वाह गरेको छ तर भविष्यतर्फ हेर्ने हो भने नेपाल र नेपाली जनताका हितका लागि नेपालले राष्ट्रसङ्घमा अझ बढी प्रभावकारी र रणनीतिक भूमिका खेल्न सक्छ भन्ने मलाई विश्वास लाग्छ । त्यसको लागि म यहाँ केही सुझाव दिन चाहन्छु ।
राष्ट्रसङ्घमा नेपालको प्रभाव सबैले झल्झल्ती देख्नसक्ने गराउन नेपालले आगामी पाँच वर्षमा निम्न अनुसारका लक्ष्यलाई अवलम्बन गर्नु उपयुक्त हुने छ ।
१) सन् २०११ मा राष्ट्रसङ्घीय महासभामा अध्यक्ष हुने पालो एसियाको हुनेछ । नेपालले सो उच्च पदमा आफ्नो उम्मेदवारी दिने चाहना अहिलेदेखि प्रकट गर्नु उचित र आवश्यक छ । हामीले एउटा योग्य र बलियो उम्मेदवार खडा गरेर आजैबाट यसका पक्षमा हाम्रा छिमेकी एसियाली मित्रराष्ट्रहरूसँग सरसल्लाह र सम्झौता गर्न थाल्ने हो भने यो लक्ष्य प्राप्त गर्न सकिने राम्रो सम्भावना छ । म नेपाल सरकारलाई त्यस किसिमको लक्ष्य हासिल गर्न पूरै राष्ट्रिय प्रतिबद्धतासहित लाग्न आग्रह गर्छु
२) अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपालको राम्रो प्रतिष्ठा र प्रभाव रहेको छ । अहिले राष्ट्रसङ्घको शान्ति सेनामा योगदान गर्ने मुलुकहरूमा नेपाल पाँचौँ स्थानमा रहेको छ । हामीले सन् २०१५ सम्ममा विश्वकै एक नम्बरको शान्ति सेनाको स्रोत हुने मुलुकको दर्जामा पुग्ने लक्ष्य राखौँ । यो नेपालमा आवश्यकताभन्दा ठूलो सङ्ख्यामा रहेका हाम्रा सेनालाई सदुपयोग गर्ने एउटा बुद्धिमानीपूर्ण बाटो पनि हुन सक्छ । हामीले अन्तर्राष्ट्रिय शान्ति स्थापना अभियानमा सबैभन्दा ठूलो योगदानकर्ता हुने सोच राख्दा त्यो खाली सङ्ख्याका दृष्टिकोणले मात्र नभएर गुणस्तरीयताका दृष्टिकोणले पनि हुनु पर्छ । उदाहरणका लागि अहिले राष्ट्रसङ्घमा महिला सिपाही, प्रहरी तथा अधिकृतहरूको ठूलो माग छ तर नेपाली सेना र प्रहरीमा धेरै महिला छैनन् । यस कुरालाई ख्याल गरी हामीले आगामी वर्षमा सुरक्षा क्षेत्रको सुधार र रूपान्तरण गर्दा नेपली सेना र प्रहरीमा ऐतिहासिक रूपमा नै कम प्रतिनिधित्व भएका समुदाय जस्तै महिला, दलित, मधेसी आदिलाई भर्ना गरेर यसलाई बढी समावेशी बनाउने प्रयास गरौँ । हाम्रो यस प्रयासको एउटा पाटोको रूपमा नेकपा माओवादीका लडाकुमा ठूलो सङ्ख्यामा रहेका महिला लडाकुमध्ये आवश्यक योग्यता पुग्ने उम्मेदवारहरूलाई विशेष व्यावसायिक तालिम दिएर छनौट गर्ने कुरा पनि सम्भवतः एउटा रचनात्मक उपाय हुन सक्छ ।
३) नेपाल राष्ट्रसङ्घको सदस्य बनेदेखि यदाकदा राष्ट्रसङ्घीय महासभाको उपाध्यक्ष र यसका विभिन्न समिति, आयोग र कार्य समूहहरूको सदस्य त भएको छ तर तिनको सभापति वा अध्यक्ष पदमा विरलै पुग्न सकेको छ । भविष्यमा हरेक वर्ष नेपाललेे राष्ट्रसङ्घका न्युयोर्क, जनेभा, रोम अथवा जहाँसुकै रहेका यसका मुख्य नियोग, अङ्ग, समिति, विशेष निकाय अथवा विकास कार्यक्रमहरू र कोषका कार्यकारी बोर्डमध्ये कम्तिमा पनि एउटा निकायमा खाली सदस्य पदका लागि मात्र नभई तिनको सभापति अथवा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी हाल्ने र जोडदार किसिमले प्रतिस्पर्धा गर्नुपर्छ । जमैका, गायना, घाना, सिङ्गापुर, स्वेडेन आदि जस्ता साना मुलुकले त्यस किसिमका उच्चस्तरीय पदहरू नियमित रूपमा प्राप्त गर्दै आएका छन् भने नेपालले पनि त्यस किसिमको महìवाकाङ्क्षा राख्न सक्नु पर्छ ।
४) हाल राष्ट्रसङ्घ र यससँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूमा थुप्रै नेपालीले काम गर्छन् तर राष्ट्रसङ्घीय निकायहरूले नेपालीहरूलाई भर्ती गर्ने क्रम बढ्दो होइन बरु घटदो छ । भनसुन गरेर होइन, खुला प्रतिस्पर्धामा सफल हुनका लागि योग्य नेपाली उम्मेदवारलाई अघि सार्न हामीले राष्ट्रसङ्घले आजभोलि चाहने सीप जस्तैः राष्ट्रसङ्घमा प्रयोग हुने धेरै भाषा जानेका, राम्रो लेखन तथा सञ्चार क्षमता भएका आधुनिक सूचना प्रविधिसम्बन्धी आधारभूत सीप भएका, खाली सरकारी निकायमा मात्र नभई गैरसरकारी संस्था, सञ्चार माध्यम, निजी क्षेत्र तथा शैक्षिक प्रतिष्ठान आदिमा काम गरेका उच्च अनुभव भएका कूटनीतिज्ञ र जेहेन्दार युवालाई प्रोत्साहन गर्नु पर्छ । ती मध्ये पनि योग्य महिला उम्मेदवारलाई विशेष प्राथमिकता, प्रोत्साहन र सहयोग गर्नु पर्छ ।
५) राष्ट्रसङ्घीय प्रणालीमा अहिलेसम्म नेपाली उच्च पदमा पुगेको भनेको सहायक महासचिव तहसम्म मात्र हो । आगामी तीन/चार वर्षभित्र कम्तिमा पनि एक नेपाली नागरिकलाई उपमहासचिव -अन्डर सेक्रेटरी जनरल) अथवा सो सरहको तहमा नियुक्त वा निर्वाचित गराउन हामीले हरप्रयास गर्नुपर्छ । यस किसिमको उपलब्धि पाउनका लागि हामीले कम्तिमा पनि आधा दर्जन जति उच्च योग्यता र अनुभव भएका नेपाली उम्मेदवार जसमध्ये दुई/तीन जना महिला उम्मेदवारसमेतको पहिचान गर्नुपर्छ र उनीहरूलाई त्यस किसिमको पदका लागि सुयोग्य बनाउन सहयोग गर्नुका साथै सबै नेपाली कूटनीतिक नियोग संलग्न भएर एक अभियानकै रूपमा प्रचारप्रसार र प्रयास गर्नुपर्छर् ।
६) यी सबैभन्दा पनि ठूलो महìवको कुरा त वर्तमान नेपालको प्रसङ्गमा हामीले एउटा महìवाकाङ्क्षी दीर्घकालीन राष्ट्रिय पुनःनिर्माण र विकास योजनाको तर्जुमा गर्न र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन राष्ट्रसङ्घबाट निकै महìवपूर्ण सहयोगको माग र अपेक्ष गर्नु पर्छ ।
राष्ट्रसङ्घले अन्मिनका माध्यमबाट नेपालको शान्ति प्रक्रियाका लागि राम्रो सहयोग उपलब्ध गराएको छ । अहिले अन्मिनको भूमिका करिब अन्तिम चरणमा पुगेका बेला नेपालले राष्ट्रसङ्घलाई सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्नका लागि आवश्यक सहयोगलगायत आर्थिक विकास र पुनःनिर्माणका क्षेत्रमा विशेष सहयोगका लागि आग्रह गर्नु पर्छ र त्यस्तो सहयोग जुटाउने राष्ट्रसङ्घको कर्तव्य र दायित्व पनि हो ।
कम्बोडिया, पूर्वी टिमोर, अफगानस्थान, लाइबेरिया, मोजाम्बिक आदि जस्ता द्वन्द्वत्तर अवस्थामा रहेका धेरै मुलुकमा त्यस्ता योजना तयार गर्न र मुख्य दाताहरूको सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सरकारलाई सहयोग गर्ने कार्यमा राष्ट्रसङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ
तर नेपालमा भने यस्तो हुन सकेको छैन । यसो हुनुमा केही हदसम्म हाम्रो आफ्नो ध्यान राजनीतिक मुद्दा र शान्ति प्रक्रियामा मात्र सीमित हुनु र आर्थिक मुद्दालाई पछि विचार गर्ने गरी दोस्रो पङ्क्तिमा पर सार्ने बानी पनि एउटा कारण हुन सक्छ ।
आर्थिक मुद्दालाई अगाडि ल्याउनु पर्ने बेला अहिले भएको छ । यदि हामीले आर्थिक मुद्दालाई हल गर्न धेरै ढिला गर्यौ भने जनता हाम्रो आफ्नै राजनीतिक प्रक्रियाप्रति निराश हुन सक्छन् साथै नेपालको विशिष्ठ खाले शान्ति प्रक्रियातर्फ विश्वको ध्यान केन्दि्रत भइरहेका बेला अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने एउटा अवसरलाई हामीले गुमाउन सक्र्छौं ।
नेपालले राष्ट्रसङ्घीय सहस्राब्दी लक्ष्यमध्ये केही लक्ष्य प्राप्त गर्न सक्ने धेरै सम्भावना छ । त्यसका लागि हामी नेपालीले सबैभन्दा पहिला राष्ट्रसङ्घको सहयोगमा एउटा स्पष्ट र महìवाकाङ्क्षी मार्गचित्र बनाएर अगाडि आउनु पर्छ । त्यसपछि मात्र हामीले आफूलाई चाहिने खालको अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्नसक्छौं ।
यी विषयहरु संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनको नेपालमा हुनलागेको आगामी भ्रमणका क्रममा नेपालको उच्च नेतृत्व तहले उहाँसग उठाउनुपर्ने र त्यसका लागि उहाँको सहयोग खोज्न उपयुक्त विषय हुन् । हामी आशा गरौं, यी कुराले वान कि मुनसँगको भेटवार्ताको एजेण्डामा उच्च स्थान पाउनेछन् ।
(लेखक संयुक्त राष्ट्रसङ्का पूर्वसहायक महासचिव र युनिसेफका उपकार्यकारी निर्देशक हुनुहुन्छ ।)
स्रोत: गोरखापत्र दैनिक