संयुक्त राष्ट्रसंघको उपमहासचिवजस्तो गरिमामय पद सम्हाले, कुलचन्द्र गौतमले। कामका सिलसिलामा सयभन्दा बढी देशमा पुगिसकेका गौतम कुनै पनि देशमा जानुअघि त्यो देशको राजनीतिक, सामाजिक, ऐतिहासिक र सांस्कृतिक अवस्थाबारे मनग्गे पढ्थे। बाल्यकालदेखि नै पाठ्यपुस्तकबाहेक विभिन्न पुस्तक पढ्थे उनी। हालै उनको किताब ‘ग्लोबल सिटिजन फ्रम गुल्मीः माई जर्नी फ्रम हिल्स अफ नेपाल टु द हल्स अफ युनाइटेड नेसन’ नेपालयले प्रकाशित गरेको छ। गौतमसँग रामकला खड्काले पठनयात्रामाथि कुराकानी गरेकी छन्–
बाल्यकालमा किताब
२००४ सालमा गुल्मीको विकट गाउँ अमरपुरमा जन्मिएँ। त्यसबेला मेरो अनि छिमेकी गाउँमा समेत पढ्ने भन्ने चलन नै थिएन। हजुरबुवा भन्नुहुन्थ्यो, ‘मेरो नाति हामीजस्तो किसान होइन, पढेर पण्डित बन्नुपर्छ।’ क, ख हजुरबुवाले नै सिकाउनुभयो। मेरो गाउँको खोला पारिको गाउँमा एक पण्डित थिए। उनको घरमा ६÷७ जना केटाहरू पढ्दा रहेछन्। मैले त्यही गुरुकुलमा अलिअलि पढेँ। त्यो बेलामा किताब भनेको दुर्गा कवच, चण्डी नै थिए। अलि शिक्षितहरू रुद्री पढ्थे। त्यहाँको गुरु पनि धेरै शिक्षित होइन, मेरो हजुरबुवाभन्दा अलि शिक्षित। उहाँले सिकाउने कोर्स पनि सकियो। हजुरबुवाको इच्छा मेरो नातिले अझै धेरै पढोस् भन्ने थियो।
२०१५ सालतिर काकासँग पढ्न बनारस गएँ। त्यहाँ अमरकोश, कौमुदी पढे। त्यहाँ पुस्तकालय पनि थियो। त्यसैले मैले एकदुई वटा नेपाली साहित्यका किताबहरू पनि हेर्न पाएँ। धादिङका एकजना चर्चित कवि कुलचन्द्र गौतम हुनुहुँदो रहेछ। उहाँले नेपाली साहित्य पनि लेख्नुहुँदो रहेछ। उहाँको कविता पढ्दा यति मीठो लाग्यो कि मेरो नाम कुञ्जरमणि गौतम फालेर कुलचन्द्र गौतम बनाएँ।
म छुट्टीमा गाउँ आएको थिए। त्यहीबेला मेरो एक मामा आमाबाबुलाई भेट्न आउनुभएको थियो। उहाँले यी भाञ्जा निकै तेज छन्, यिनलाई अंग्रेजी पढाउनुपर्छ भन्दै काठमाडौं ल्याई शान्ति विद्यागृहमा भर्ना गरिदिनुभयो। त्यो बेलामा म १२ वर्षको थिएँ होला। त्यहाँ ३ कक्षामा भर्ना भएकोमा राम्रो गरेकाले एकैपटक ५ कक्षामा उक्लिएँ। तर काठमाडौंको हावापानी त्यति राम्रो लागेन। तानसेन पाल्पामा स्कुल खुलिसकेको थियो, उतै हाइस्कुल पढेँ। एसएलसी भने काठमाडौं, क्षेत्रपाटीको जेपी हाई स्कुलबाट दिएँ। तानसेनमा नेपाल–भारत सांस्कृतिक केन्द्र र अर्को धवल पुस्तकालय थियो। त्यहाँ कोर्सबाहेक धेरै किताब पढेँ। सायद ९ कक्षा पढुन्जेल लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठलगायतका नेपाली साहित्यका उत्कृष्ट ग्रन्थहरू सकाइसकेको थिएँ।
अमेरिकाको प्रिय साथी : किताब
अमेरिकाको विश्वविद्यालय म किताबको कीरो थिएँ। पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीको ‘प्रोफाइल इन करेज’ मेरो प्रिय किताब हो। त्यही किताबले अन्तर्राष्ट्रिय साहित्यमा मेरो रुचि बढाइदियो। मलाई इतिहासमा पनि धेरै चासो लाग्थ्यो। त्यसैले अमेरिकाको इतिहास, विश्वको इतिहास मैले पढेँ। सन् १९६९ तिरको कुरा हो। लडाइँमा अमेरिकालाई भियतनामले हराएको थियो। संसारको शक्तिशाली देशलाई संसारको सबैभन्दा गरिब देशले धेरै वर्षसम्म चलेको लडाइँमा हराएकोमा म चकित परँे। त्यसैले त्यतिबेला मैले दक्षिण पूर्वी एसियाको राजनीति, भियतनामको इतिहासलगायतका धेरै किताब पढेँ।
१९७३ मा पेरिसमा अमेरिका र भियतनामबीच शान्तिसम्झौता भयो। अब लडाइँ टुंग्याउने भन्ने भयो। यो सम्झौताको संसारका धेरै राष्ट्रले स्वागत गरे। संयुक्त राष्ट्रसंघका महासचिवले पनि स्वागत गर्दै अब भियतनाम र यसका वरिपरिका देशको पुनर्निर्माणका लागि यूएनले धेरै सहयोग गर्नुपर्छ भने। युद्धमा सबैभन्दा बढी पीडित हुने महिला र बालबालिका हुन्। उनीहरूलाई सहयोग गर्न युनिसेफले पनि भियतनाममा काम गर्ने भयो। त्यतिबेला मेरो स्नातकोत्तर सकिएको थिएन। तर मैले युनिसेफको काममा चाख देखाएपछि मलाई न्युयोर्क डाकेर उनीहरूले अन्तर्वार्ता लिए। म छानिएपछि असिस्टेन्ट प्रोग्राम अफिसरबाट भियतनाममा जागिरे जीवन सुरु गरेँ।
म जुन देशमा जान्छु, छोटो भिजिटमा गए पनि त्यो देशको बारेमा पढ्न चाहन्छु। म टुरिस्ट भएर थाइल्यान्ड गए पनि त्यो देशको इतिहास, राजनीति र आर्थिक अवस्थाको बारेमा पढ्ने गर्छु। संसारमा के भइरहेको छ भनेर पत्रपत्रिका पनि पढ्थेँ। त्यसैले मैले अफ्रिका, ल्याटिन अमेरिका, एसियाका बारेमा धेरै किताब पढेँ। सयभन्दा बढी देशको भ्रमण गर्दा ती देशबारे जानकारी लिएर जान्थेँ।
अमेरिकाको विश्वविद्यालय पढ्दा म किताबको कीरो बनेँ। पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीको ‘प्रोफाइल इन करेज’ मेरो प्रिय किताब हो। त्यही किताबले अन्तर्राष्ट्रिय साहित्यमा मेरो रुचि बढाइदियो।
म इन्डोनेसियामा चार वर्ष बसेँ। त्यहाँ इन्डोनेसियन भाषा पनि सिके। त्यहाँको पहिलो राष्ट्रपति सुकार्नोको जीवनी पढे। त्यसपछिका नेता सुहार्तोको बारेमा पढेँ। यो ठूलो देश छ, सांस्कृतिक विविधता भएका देश भएकाले त्यहाँको संस्कृतिको बारेमा धेरै किताब पढें। पछि म ल्याटिन अमेरिका गएँ। त्यहाँ मैले स्पेनिस पनि सिकेँ। स्पेनी भाषामै आठ दसवटा किताब पढेँ।
प्रिय किताबहरू
मलाई सबैभन्दा मनपर्ने किताब नोबेल पुरस्कार विजेता कोलम्बियन लेखक गाब्रियल गार्सिया मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’ हो। ल्याटिन अमेरिका क्रिश्चियन धर्म मान्ने देश। हामी नेपालीलाई क्रिश्चियानिटी भन्ने धेरै थाहै हुँदैन। त्यहाँ काम गर्न चर्चको ठूलो हात छ। त्यसैले मैले उनीहरूको धर्म ग्रन्थहरू पनि हेरेँ। यसले मलाई उनीहरूसँग कुरा गर्दा धेरै सहज भयो।
अवकास पाएपछि नेपाल आउने बेलामा न्युयोर्कमा ठूलो फेयरवेल पार्टी दिएका थिए। त्यतिबेला मलाई धेरैले अब के गर्नुहुन्छ भनेर सोधेका थिए। मैले आफ्नो फेयरवेल स्पिचमा भनेको थिएँ, ‘मलाई बाल्यकालमा नेपाली साहित्यमा ठूलो चाख थियो। अहिले ३० वर्षयता नेपाली साहित्यबाट धेरै टाढिएँ। अब नेपाल फर्किएपछि फेरि नेपाली साहित्य, संस्कृति र कलासम्बन्धी पुस्तकहरू पढ्छु।’
हुन पनि म यहाँ आएपछि एक थाक नेपाली पुस्तकहरू किनेँ। यो अवधिमा मैले मदन पुरस्कार पाउने प्रायः किताब पढेर सकाएँ। बाल्यकालमा पढेका र घत लागेका केही किताबलाई दोहोर्याएँ पनि। जस्तो मुनामदन बचपनमा पढेको थिएँ, धेरै घत लागेको थियो, फेरि पढें। जगदीश घिमिरे र बीपी कोइरालाको आत्मकथा पनि पढेँ, साह्रै राम्रो लाग्यो। लक्ष्मीप्रसादको शाकुन्तल, सुलोचना पनि घत लागेर पढेँ। अहिले मैले पढिरहेको पुस्तक सरस्वती ज्ञवालीको ‘लालटिनको उज्यालोमा’ हो। उहाँले मीठो सरल भाषामा लेख्नुभएको छ।
नेपालीबाहेक मैले भारतीय लेखक शशी थरुरको ‘ह्वाई आई एम अ हिन्दु’ पढेर सकाएँ। भारतमा बेलायती उपनिवेश कस्तो भयो भन्ने विषयमा लेखिएको ‘एन इरा अफ डार्कनेस’ पनि गज्जब किताब छ। अंग्रेजी साहित्यमा जोनएफ केनेडीको ‘प्रोफाइल इन करेज’, चिनुवा अचिवेको ‘थिङ्स फल अपार्ट’ लगायतका कृति मन पर्छ। आफू अपडेट हुनलाई संयुक्त राष्ट्रसंघको ह्युमन डेभेलपमेन्ट रिपोर्ट, मिलेनियम डेभलपमेन्ट रिपोर्ट आदि पनि पढ्छु।
मलाई मन परेका केही नेपाली किताबमा लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, मोदनाथ
प्रश्रितको ‘मानव’ महाकाव्य र ‘देवासुर संग्राम’ खण्डकाब्य, नारायण वाग्लेको ‘पल्पसा क्याफे’, आनी छोइङ डोल्माको ‘फूलको आँखामा’ आदि हुन्।
धेरै लेखकले आफ्नो पुस्तक उपहार दिन्छन्। भर्खर दीपेन्द्र झाको ‘फेडेरल नेपाल’ पाएको छु। यस्ता किताब थुप्रै आउँछन्। तर म पढ्न भ्याउन्नँ। म विश्वका धेरै देशमा बसेँ। किताब धेरै बटुलेर हिँड्न सम्भव भएन। त्यसैले त्यो देश छाड्ने बेलामा त्यहाँकै स्कुल, लाइब्रेरीमा दिएँ किताब।
किताबमा मेरा कुरा
मैले दुई वर्षअगाडि ‘लस्ट इन् ट्रान्जिसन : रिबिल्डिङ नेपाल फ्रम द माविष्ट मेहेम एन्ड द मेघा अर्थक्वेक’ पुस्तक प्रकाशन गरें। अहिले ‘ग्लोबल सिटिजन फ्रम गुल्मीः माई जर्नी फ्रम हिल्स अफ नेपाल टु द हल्स अफ युनाइटेड नेसन’ लेखेको छु। यसमा मेरो जन्म, बाल्यकाल, म किन विश्व नागरिक भन्नेदेखि विश्वका नेताहरूसँग भेट्दा उहाँहरूसँग भएका रोचक कुराकानी पनि समेटिएको छ। यो किताब हालै राष्ट्रपति विद्या भण्डारीज्यूलाई पनि दिएँ। सबै पढ्न नभ्याए पनि दुई तीनवटा च्याप्टर पढ्नुस् भनेर अनुरोध गरेको छु। मैले नेल्सन मण्डेलालाई तीनपटक भेटेँ। उहाँ राष्ट्रपति हुँदा उहाँकै दरबारमा लामो समयका लागि एकपटक भेटेको थिएँ। सारा संसारलाई थाहा छ, उहाँ कस्तो मानिस हो। अरूलाई थाह नभएको पक्ष मैले किताबमा लेखेको छु। त्यही मैले राष्ट्रपति भण्डारीलाई पढ्न अनुरोध गरेको हुँ।
किताब र युवापुस्ता
मेरो किताब छोराले पनि पढ्दैछ। तर हार्ड कपी होइन, उसको आइप्याडमा हेर्छ। म छोरालाई जहाँ पढ्छौ पढ तर पढ्न चाहिँ पढ भन्छु। मलाई लामो पढ्नु परे हार्डकपी नै रोज्छु। अहिलेको जमाना डिजिटल युग भयो। आजभोलि सबैको स्मार्ट फोनमा एक्सेस भएको छ। फेसबुक, इन्स्टाग्राम, ट्विटर चलाउँछन्। कति युवाले पढाइमा ध्यान दिन सक्दैनन्। म अहिले बैंकक बस्छु। मेरो नातिनातिनासँग यो समस्या फेस गरिरहेको छु। उनीहरूलाई पढ्ने बानीको विकास गराउन चाहन्छु। उनीहरूलाई ग्याजेट दियो भने त खेलेको खेल्यै गर्छन्। यदि बाल्यकालमा पढ्ने बानी भएन भने ठूलो भए पछि झन् आउँदैन। बैंकक अलि गर्मी छ, घरभित्रै बसेर पढ्छु। नेपालमा हुँदा मेरो घरमा बगैंचा छ, त्यही बसेर पढ्ने गर्थें। गाउँमा भए बाहिरै बसेर पढ्छु।
हजुरआमा हजुरबुवा, आमाबाबु र शिक्षकले बालबालिकालाई चाख लाग्ने बालसाहित्य रोचक किसिमले लेखेर, के गर्दा उनीहरूलाई तान्न सकिन्छ, त्यस्ता किताब दिनुपर्छ। अहिले डिजिटल लाइब्रेरी पनि आएका छन्। जसरी भए पनि पढ्नु चै पर्छ भनेर अभिभावक र शिक्षकले हौस्याउनुपर्छ।
पाठ्यपुस्तक बनाउँदा नयाँ तरिका खोज्नुपर्छ। मेरो गाउँका विद्यालयमा पनि मैले सहयोग गरिरहेको छु, डिजिटल लाइब्रेरीका लागि। कम्प्युटर पनि सस्तो हुँदैछ र गाउँगाउँमा इन्टरनेटको पहुँच पनि हुँदैछ। तर, समस्या के भयो भने यहाँ शिक्षकलाई नै कम्प्युटर चलाउन आउँदैन। सबै विषयका शिक्षकले डिजिटल लाइब्रेरीको प्रयोग गर्न जान्नुपर्यो र विद्यार्थीलाई पनि सिकाउनुपर्यो।
Source: annapurnapost.com/news/106422